
२०७९ भदौ ११ शनिबार ०८:३१:००

गाउँमा औँलाले गन्न सकिने कांग्रेसीमध्ये मेरो परिवार पनि एक थियो । परिवार कांग्रेस भएकाले मेरो पनि कांग्रेसमा आकर्षण बढ्नु स्वाभाविक हो । ०५४–०५५ ताका म कांग्रेसको क्रियाशील सदस्य भइसकेको थिएँ । मेरो दाजु दिल्लीमा आफ्नै व्यवसाय गरेर बस्नुहुन्थ्यो । सन् २००० तिर म पनि आइएको परीक्षा सकेर दाजुको सामीप्यमा पुगेँ ।
राजा ज्ञानेन्द्रको दोस्रो ‘कु’पछि दिल्लीमा रहेका नेपालका विभिन्न राजनीतिक पार्टीका प्रवासी नेपाली भ्रातृसंस्थाहरूले विरोध कार्यक्रम गरे । दिल्लीको जन्तरमन्तरमा भएको धर्ना एवम् विरोध प्रदर्शनमा जेएनयूका विद्यार्थी, भारतीय राजनीतिज्ञहरू पूर्वप्रम आइके गुजराल, जर्ज फन्डाडिस, डिपी त्रिपाठीलगायतको उपस्थिति थियो । उक्त कार्यक्रममा मेरो पहिलोपटक प्रदीप गिरिजीसँग प्रत्यक्ष भेट भयो । पहिलेदेखि नै उहाँका लेख–अन्तर्वार्ताले मलाई आकर्षित गरिसकेका थिए । उक्त कार्यक्रमपछिको भेटमा उहाँले नेपालमा क्रान्तिलाई ऊर्जा प्रदान गर्न एउटा क्रान्तिकारी पत्रिका प्रकाशन गर्ने योजना रहेको र मलाई पनि त्यसमा आबद्ध हुन अनुरोध गर्नुभयो । उहाँको संरक्षणमा शैलेस आचार्य, दिनेश प्रसाईं, मलगायत नेपाल वान टेलिभिजनका अरुणदेव जोशी, राजेन्द्र खनाल आदिको सहयोगमा ‘लोकतन्त्र’ नामक मासिक पत्रिका प्रकाशन सुरु भयो ।
मैले करिब दुई वर्षअघि मात्रै यहाँसँग स्वकीय सचिवको रूपमा काम गर्न थालेको हुँ । त्यसअघि म, विकाश हमाल, आनन्द राउतलगायत साथीहरूले उहाँको लेख–रचना र अध्ययनमा सहयोग गर्दै आएका थियौँ । २०६४ सालको संविधानसभाको निर्वाचनपछि उहाँको प्रेरणाले पदमबहादुर थापा, गोपालप्रसाद दुलाल मलगायत साथीहरूले दिल्लीमा रहेको जवाहरलाल नेहरू म्युजियम लाइबे्ररीबाट बिपी कोइराला, तुलसी मेहरसहित नेपालको प्रजातान्त्रिक आन्दोलनका महत्वपूर्ण दस्तबेजहरू संकलन गरेर प्रकाशन गरेका छौँ । यो कार्य गर्न उहाँको अगुवाइविना सम्भव थिएन । अझै पनि बिपी कोइरालाका आलेख, भाषण र अप्रकाशित डायरी दुई हजार पृष्ठभन्दा धेरै संकलन गर्न बाँकी छ ।
उहाँको अत्यधिक रुचिको विषय अध्ययन नै हो । अध्ययनका साथसाथै सिनेमा हेर्ने, गीत–संगीत सुन्ने पनि गर्नुहुन्थ्यो । उहाँ राजनीतिज्ञ भए पनि राजनीतिमा धेरै समय बिताउनु हुन्नथ्यो । बिहानदेखि बेलुकीसम्म नेता–कार्यकर्तासँग भेटघाट, जमघट गर्ने काम उहाँलाई ‘इरिटेड’ लाग्थ्यो । ठूला नेता हुन् या कार्यकर्ता दिनमा ४–५ जनाभन्दा बढी मान्छेलाई नभेट्ने उहाँको बानी थियो । त्यसमा पनि अझ राजनीतिक नेताहरू कम मात्र भेट्नुहुन्थ्यो ।
उहाँ राति अबेरसम्म अध्ययन गर्नुहुन्थ्यो । रातको १–२ बजेपछि मात्रै सुत्ने बानी थियो । बिहान ७–८ बजेपछि मात्रै उठ्नुहुन्थ्यो । मर्निङ वाक जाने बानी उहाँमा थिएन । समय पाउँदा साइक्लिङ गर्दै पढ्ने गर्नुहुन्थ्यो । त्यो पनि मुडमा भर पथ्र्यो । कोरोनापछि चाहिँ उहाँ कहिलेकाहीँ इभिनिङ वाकमा जाने गर्नुहुन्थ्यो । सिनेमाहरूमा क्लासिकल सिनेमा बढी हेर्नुहुन्थ्यो । ‘लगे रहो मुन्नाभाइ’जस्ता सिनेमामा उहाँको विशेष रुचि रहन्थ्यो । पुराना र ऐतिहासिक सिनेमाहरू उहाँको रुचिमा पर्ने गर्थे ।
किन्डलको आविष्कारपछि पाएसम्मका किताब किन्डलमा नै पढ्नुहुन्थ्यो । पछिल्लो समय समाचार, लेख र अन्तर्वार्ता मोबाइल–युटुबमा हेर्ने गर्नुहुन्थ्यो । किन्डलको पहिलो संस्करण भारतीजीले उपहार दिएको कुरा सगर्व स्मरण गरिरहनुहुन्थ्यो । नेपाली किताब किन्डलमा उपलब्ध नहुने भएकाले किनेर नै पढ्नुहुन्थ्यो । अंग्रेजी, हिन्दीलगायत पुस्तक भने किन्डलमा नै पढ्नुहुन्थ्यो ।
आफ्नो बचपनका क्रियाकलाप ताजा बनाउन रक्सोलको रेलवे पट्रीमा दुई घन्टा मजाले सुत्नुभएको दृश्य मेरो मानसपटलमा अझै ताजै छ
उहाँको समय अस्तव्यस्त नै हुने गथ्र्यो । कतिपय अवस्थामा सञ्चार माध्ययमले समय माग्दा बल्लतल्ल समय मिलाइन्थ्यो । तर, उहाँले दिने अन्तर्वार्ता पूरा हुने हो कि होइन भन्ने चिन्ता हामीलाई भइरहन्थ्यो । अन्तिम अवस्थामा पुगेर म जान्न पनि भन्ने गर्नुहुन्थ्यो । पछिल्लो समय कान्तिपुर टेलिभिजनले ‘फाएरसाइड’का लागि समय लिएको थियो । समय मिल्यो, तर स्टुडियोमा सबै कुरा तयार भएर उहाँलाई कुरिरहेको अन्तिम अवस्थामा म जान सक्दिनँ, मलाई ‘अन्कम्र्फटेबल’ फिल भयो भन्नुभयो । झन्डै अन्तर्वार्ता नै नदिनुभएको । उहाँको एउटा धारणा थियो, आफ्नो सुविधाले कसैलाई अन्तर्वार्ता दिने वा सहयोग गर्ने हो, अरूको सुविधामा होइन । उहाँ भीमसेनगोलामा बस्नुहुन्थ्यो ।
प्राइम टाइम टेलिभिजनको कार्यालय दुई मिनेट मात्रको दूरीमा पथ्र्याे । ऋषि धमलाले लाइभ कार्यक्रमका लागि समय मिलाएका हुन्थे । ऋषिले हात हल्लाएर आज मसँग प्रदीप गिरिजी हुनुहुन्छ भन्दै गर्दा उहाँ पुग्न ५–१० मिनेट अबेला हुन्थ्यो । टिभीबाट तीनपटकसम्म उहाँलाई लिन आउनुपर्ने पनि हुन्थ्यो । त्यस्तो धेरै अनुभव छन् । उहाँको सजिलो भनेकोचाहिँ घरमै आएर लिन चाहने मिडियालाई सजिलैसँग अन्तर्वार्ता दिनुहुन्थ्यो । स्टुडियोमा नै गएर दिनुपर्ने अन्तर्वार्तामा चाहिँ समय व्यवस्थापनमा समस्या हुन्थ्यो ।
जोसुकै मान्छे आए पनि उहाँलाई भेट्न मन नभएपछि भित्र पस्नै नदिनु भनेर एकदमै कडा निर्देशन हुन्थ्यो । कतिपय अवस्थामा उहाँलाई धेरै समय कुरेर रिसाएर जानेहरू पनि हुन्थे । कोही मान्छे रिसाउँदैमा केही फरक पर्दैन भन्नुहुन्थ्यो । उहाँलाई यसले कुनै असर गर्दैनथ्यो । समय–समयमा पूर्वमन्त्रीहरू घरमै आउँदा पनि भेट नपाएर जिल्ल परेर फर्किनुपरेको अनुभव छ । सामान्य मान्छेलाई भेट्ने कुरामा चाहिँ ‘मुड’मा भर पथ्र्यो । उहाँको मुड चल्यो भने किताब पसल वा जनरल स्टोरहरूमा भेट भएका मान्छेहरूलाई पनि नम्बर दिने गर्नुहुन्थ्यो र ल भेट्न आउनुस् पनि भन्नुहुन्थ्यो ।
सिरहाको लहानमा उहाँको आश्रम छ । खोला किनारमा रहेको आश्रममा उहाँले आफ्नै साथीभाइबाट सहयोग जुटाएर कम्प्युटर ट्रेनिङ दिने ठाउँ पनि राख्नुभएको छ । दलित र मुसहर बस्तीका केटाकेटीहरू सामान्य साक्षर पनि नभएर वैदेशिक रोजगारमा ठगिएको घटनाप्रति उहाँको विशेष चिन्ता थियो । विदेशबाट चिठीपत्र लेख्न जान्ने होस् भनेर आधारभूत पढाइ सुरु गर्नुभएको थियो । अहिले त्यहाँ ३०–४० जना केटाकेटी पढ्छन् ।
उहाँ प्रमुख अतिथि भएर कहिल्यै पनि जानु हुन्थेन । वक्ताको रूपमा जानुहुन्थ्यो । प्रमुख अतिथिको रूपमा समयमै पुग्नुपर्ने हुन्थ्यो । अलिकति अनुशासित भएर बस्नुपर्ने हुन्थ्यो । उहाँ प्रमुख अतिथि भनेर ब्यानरै तयार भइसकेको अवस्थामा पनि ब्यानर परिवर्तन गर्नुपरेको थियो । पछिल्लो समय उहाँको मार्क्स, लेनिनबारे लेखिएका र पौराणिक पात्रहरू भन्ने लेखको चर्चा भयो । उहाँमाथि कसैले केही आरोप लगाए त्यसमा उहाँको प्रतिक्रिया हुँदैनथ्यो । आलोचना गर्ने मान्छेलाई खेदो खन्ने बानी उहाँको थिएन । बरु आलोचना गर्ने मान्छेलाई व्यवहारले नै नजिक बनाउने बानी थियो ।
उहाँ पहिलादेखि नै पूर्ण रूपमा शाकाहारी हुनुहुन्थ्यो । मैले थाहा पाएअनुसार उहाँले कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुँदा ताकाबाट अल्कोहल सुरु गर्नुभएको थियो रे ! मैले थाहा पाउँदा उहाँले ह्विस्की पिउनुहुन्थ्यो । आवश्यकताअनुसार किनेर ल्याउने र खाने बानी थियो । घरमै बार बनाएर ब्रान्डेड रक्सी राख्ने गर्नु हुन्थेन ।
उहाँको अनुसन्धानका लागि हामी (म, पदमबहादुर थापा, गोपालप्रसाद दुलाल, विजय मिश्र)ले भारतको दिल्ली, कोलकत्ता, वनारसलगायत विभिन्न लाइब्रेरीमा पुगेर अध्ययन गरेका छौँ । भारतमा उहाँका धेरै समाजवादी साथी हुनुहुन्थ्यो । भारतबाहेकका देशबाट चाहिँ त्यही भएका साथीहरूले उहाँलाई अध्ययन सामग्रीहरू सहयोग गर्नुहुन्थ्योे । सन्तोष खडेरीले उहाँलाई बिपीले बल्लभभाइ पटेललाई लेखेको चिठी उपलब्ध गराउनुभएको थियो । त्यसमा ‘नेपालमा कम्युनिस्ट मुभमेन्ट बढ्यो, त्यसलाई रोक्न तपार्इंहरूले सहयोग गर्नुपर्यो’ भन्ने व्योहोराको चिठी रहेछ । त्यो हामीसँग थिएन । हामीसँग करिब २५ सय पृष्ठको बिपीबारे लेखिएका डकुमेन्ट जम्मा भएका थिए । अझै गर्नुपर्ने काम धेरै छ ।
पछिल्लो समय उहाँ सक्रिय हुनुहुन्थेन । विषयगत भाषण गर्दा उहाँले कतिपय तथ्यांक र मिति खोजेर पढ्नुहुन्थ्यो । लेखेर नोट गरेर चाहिँ लानुहुन्थेन । माक्र्स, लेनिनबारे बोल्दा त्यसका लिटरेचर सबै खोजेर अध्ययन गरेर मात्रै बोल्ने गर्नुहुन्थ्यो । सन्दर्भ सामग्री अध्ययन गर्न समय नपुगेको अबस्थामा कार्यक्रम नै क्यान्सिल गर्छु बरु पनि भन्नुहुन्थ्यो ।
०००
गत वर्ष जुलाई १८–२० तिर उहाँको भतिज डा. सन्दर्भ गिरि (इएनटी सर्जन)लाई बोलाएर ‘मलाई यहाँनेर गाह्रो भएको छ बाबु, अलिकति समस्या भएजस्तो छ’ भनेर देखाउनुभएको थियो । उहाँले देखाएको घाँटीतिरको भाग छाम्दै डा. सन्दर्भले यहाँ ट्युमर हुन सक्छ ठूलोबा भन्नुभयो । भिडियो एक्सरे गरेर हेर्नुपर्छ भन्नुभयो । केएमसीमा लगेर हेर्दा ट्युमरजस्तो देखियो । केही गिर्खाजस्तो देखिएपछि रगतको नमुना निकालेर परीक्षण गर्दा शंकास्पद देखियो । यो रिपोर्टबारे दिल्लीको एपोलो अस्पतालका डा.एम शुक्लमण्यमसँग कुरा भयो । उहाँले नै पुरानो प्रोस्टेन्टको सर्जरी गर्नुभएको थियो । उहाँले रिपोर्टको भरमा केही गर्न सक्दिनँ । स्लाइड पनि लिएर आउनुस् अनि मात्रै भन्न सकिन्छ भन्नुभयो । म त्यो स्लाइड लिएर गएँ । तर, त्यो रिपोर्ट आपसमा टाँसिएर काम लाग्ने अवस्थामा थिएनन् । त्यसपछि डाक्टरले उहाँलाई नै बोलाउन भन्नुभयो ।
त्यहाँ गएर टेस्ट गरियो । त्यसबाटै उहाँलाई क्यान्सर देखियो । यसबीच उहाँ नेपाल फर्किनुभएको थियो । केही बम्बईका सुल्तान प्रधान भन्ने डाक्टरसँग समय मिल्यो । त्यसपछि डा. सन्दर्भ र उहाँ बम्बई आउनुभयो । त्यहाँ परीक्षण गरेर हेर्दा पनि क्यान्सर पुष्टि भयो । क्यान्सर भए पनि त्यो फैलिसकेको अवस्थामा थिएन । जहाँ थियो, त्यहाँ नै थियो । क्यान्सर भएको जानकारी पाउँदा पनि उहाँले कुनै गम्भीर प्रतिक्रिया दिनुभएन । समस्या देखिएपछि आफैँ भन्नुहुन्थ्यो, ‘मलाई क्यान्सर भएको हो ।’ उहाँको परिवारका सदस्यमा पनि क्यान्सर थियो र निको पनि भएको थियो । आफूलाई क्यान्सर भएको थाहा पाउँदा उहाँमा अलिकति पनि पीडा झल्केको देखिँदैनथ्यो । भन्नुहुन्थ्यो– तिमीहरूले चिन्ता गर्नुपर्दैन । मृत्यु शाश्वत हो । म जे भए पनि झेल्न तयार छु ।
अन्तिम कुराकानी
नेपाल आएपछि ११–१२ अगस्टमा उहाँसँग अन्तिम कुराकानी भयो । उहाँको स्वर मलिन भइसकेको थियो । नेपाल आएपछि लामो कुराकानी भएन । अन्तिम अवस्थामा उहाँमा मलाई के हुन्छ त्यो थाहा छैन, तर मलाई सहयोग गर्नेलाई मैले केही सहयोग गर्नुपर्ने, त्योचाहिँ अधुरो नै रहने भयो भन्ने चिन्ता थियो । त्यस्तै सिरहाको आश्रमको व्यवस्थापनको पनि चिन्ता थियो । उहाँलाई अगस्ट १६ तारिखमा आइसियूमा लगियो । ‘तिमीले मलाई १८–२० वर्षदेखि सहयोग गर्यौ । त्यति गर्दा पनि मैले तिमीहरूको राम्रो व्यवस्थापन गर्न सकिनँ,’ भन्नुभएको थियो । निमोनियाले सताएपछि उहाँ थप शिथिल हुनुभयो ।
मैले थाहा पाएसम्म उहाँले सरकारी सहयोगबाट उपचार गराउनुभएको थिएन । नेपाल आएपछि पनि प्रधानमन्त्रीको सचिवालयबाट उपचारको कुरा आएको थियो । तर, उहाँले त्यसलाई इन्कार गर्नुभयो । आर्थिक अभाव भए मेरो उपचार रोक्नू, तर सरकारी पैसा मेरो उपचारमा नलगाउनू भन्ने उहाँको भनाइ थियो । त्यसअघि पनि सरकारले यसबारे प्रस्ताव गरेको थियो । उहाँले मान्नुभएन । आफूसँग भएको बचत, परिवार, साथीभाइ, शुभचिन्तकलगायतबाट उहाँको उपचार भइरह्यो । यसबाहेक उहाँको प्रिय पात्र अनिल रुङ्गटाले पनि उपचारमा केही सहयोग गर्नुभएको थियो । उहाँ व्यवसायी र राजनीतिज्ञ पनि हुनुहुन्छ ।
उहाँलाई सादगी जीवन मन पथ्र्यो । फाइभ स्टारभन्दा फुटपाथको पोलेको मकै, भुटेको मकै खान रुचाउनुहुन्थ्यो । कतै हिँड्दा मकै पोलेको देखेमा जाऊ त त्यो मकै ल्याऊ भन्नुहुन्थ्यो । काठमाडौंमा भन्दा भारतमा त्यस्ता धेरै ठाउँ थिए । नेपालमा पनि न्युरोडतिर जानुहुन्थ्यो । दिल्ली जाँदा गान्धी पिस फाउन्डेसनको गेस्टहाउसमा बस्ने गर्नुहुन्थ्यो । त्यसको नजिकै एक बंगाली महिलाले बनाउने परौठा खान खुब रुचाउनुहुन्थ्यो । गुन्द्रुक र भात, तामाको तरकारी, मस्यौरा, कडीमा उहाँको रुचि थियो । उहाँलाई तराईको पकौडा, घुघुनी विशेष मन पथ्र्यो । उहाँ बढी खादीको कपडा लगाउनुहुन्थ्यो । हरेक आइतबार बिहान दिल्लीको दरियागन्जमा सेकेन्ड ह्यान्ड पुस्तक राखिएको हुन्छ । यस्ता किताबहरू जेएनयूमा पनि पाइन्थे । त्यहाँ सेकेन्ड ह्यान्ड पुस्तक किन्न जानुहुन्थ्यो ।
उहाँले आश्रममा बस्दा भन्नुभएको थियो रे, ‘म मरेपछि यतै अन्त्येष्टि गर्नू ।’ उहाँले कुमुदरञ्जन बराल, शम्भु यादव, रामपल्टन साहलगायतसँग बस्तिपुरमै अन्त्येष्टि गर्नू भनेर अन्तिम इच्छा व्यक्त गर्नुभएको थियो रे ! उहाँको घरछेउ उहाँका बुबा, हजुरबाले बनाएको मन्दिर छ । बुबाको पनि यहीँ छेउमा अन्त्येष्टि गरिएको थियो, मेरो पनि यहीँ हुनुपर्छ भन्नुभएको थियो रे ! दिल्ली जाँदा उहाँले मलाई लिएर जानुहुन्थ्यो । मलाई उहाँले कहिल्यै यसबारे भन्नुभएको थिएन ।
०६२ ताका उहाँको आमाको स्वर्गारोहण भयो । आमा पनि क्यान्सरपीडित हुनुहुन्थ्यो । उहाँलाई पनि भारतमा लगेर सर्जरी गरिएको थियो । बडो दुःख पाउनुभएको थियो, बित्नुभयो भन्नुभएको थियो । दुःख पाएर बाँच्नुपरेको थियो भन्ने मात्र उहाँको प्रतिक्रिया रह्यो । यसबाहेक उहाँ असाध्यै खुसी र दुःखी भएको क्षण देखिनँ । उहाँ जस्तोसुकै अवस्थालाई पनि एकै लयमा लान सक्नुहुन्थ्यो । पछिल्लो ५–६ वर्षदेखि उहाँ एक्लै बस्ने गर्नुहुन्थ्यो । जोक र ठट्टा एकदमै गर्नुहुन्थ्यो । म हँस्यौली पाराको मान्छे हुँ पनि भन्नुहुन्थ्यो ।
एकपटक उहाँहरू भट्टराईजीहरू वनारसमा बस्नुहुन्थ्यो रे ! एकदिन साँझ फिल्म हेर्न जानुभएको थियो रे ! बाटोमा रिक्सामा आउने क्रममा फिल्म कस्तो थियो भन्ने विषयमा कुराकानी हुँदा एकजनाले फिल्म थर्ड क्लासको थियो भनेछन् । यो सुनेपछि उहाँले त्यसो भन्ने मान्छेलाई बीच बाटोमै झारेर हिँड्नुभएको थियो रे ! त्यसवेला कृष्णप्रसाद भट्टराईले उहाँलाई कस्तो जहरसिंह रहेछ भन्नुभएको थियो रे ! त्यसपछि उहाँका निकटले उहाँलाई ठट्टा गर्दै वेलावेलामा ‘जहरसिंह’ भनेर पनि बोलाउने गर्नुहुन्थ्यो ।
हामी सहयोगीहरूलाई उहाँको मन नपर्ने बानी भनेको सानासाना एउटै काम धेरैजनालाई अह्राउनुहुन्थ्यो । जसले गर्दा अह्राएको काम नै नहुने अवस्था पनि रहन्थ्यो । उहाँको सबैभन्दा मनपर्ने पुस्तक भनेको डा.सुमाखरको ‘स्मल इज ब्युटिफुल’ हो । यो पुस्तकको चर्चा गरिहरनुहुन्थ्यो ।
उहाँ आफ्ना पुस्तकबारे आएका प्रतिक्रियामा धन्यवादसम्म भन्नुहुन्थ्यो । उत्साहित वा निराश दुवै प्रतिक्रिया उहाँको हुन्थेन । उहाँले विशेष चारजना युवालाई मन पराउनुहुन्थ्यो । गगन थापा, विश्वप्रकाश शर्मा, कल्याण गुरुङ र प्रदीप पौडेलले नेपालको राजनीतिलाई अगाडि बढाउन सक्छन् भन्ने उहाँको विश्वास थियो । उहाँमा ‘राजनीति ट्र्याकबाहिर गयो, भविष्यका पुस्ताले दुःख पाउँछन्’ भन्ने चिन्ता भइरहन्थ्यो ।
पछिल्लो समय कांग्रेसीभन्दा पनि कांग्रेसबाहिरका मान्छेहरू उहाँलाई भेट्न धेरै आउनुहुन्थ्यो । घनश्याम भुसाल, राम कार्की, रामकुमारी झाँक्री, वर्षमान पुन, देव गुरुङहरूसँग उहाँको भेटघाट हुन्थ्यो । उहाँको सपना आश्रमलाई गान्धी आश्रमजस्तो बनाऔँ भन्ने थियो । रिसर्च इन्स्टिच्युटजस्तो बनाऔँ, देशबाहिरबाट पनि मान्छेहरू आएर अध्ययन–अनुसन्धान गरून् भन्ने सपना उहाँको थियो । पढ्न नपाउनेले पढून् भन्ने थियो । त्यहाँ एउटा सानै भए पनि अस्पताल खोलौँ भन्नुभएको थियो । लाइब्रेरी बनेको छ । उहाँले आफ्नो जीवनकालमा किनेका दसौँ हजार पुस्तक र हस्तलिखित पुस्तक त्यहाँ जम्मा गरिएको छ । उहाँले आफ्नो जीवनकालमा किनेमा किताबबारे बारम्बार भन्ने गर्नुहुन्थ्यो, ‘मेरो शेषपछि मेरो जीवनकालमा किनिएका पुस्तक यहाँ जम्मा गरिदिनू र लाइब्रेरी बनाइदिनू ।’
प्रोस्टेट सर्जरीपछि उहाँले मृत्युलाई नजिकबाट नियाल्नुभएको थियो । उहाँ मृत्युदेखि डराउनु हुन्थेन । उहाँको इच्छा ‘मेरो मृत्यु दुःख र दर्दमा नहोस्, भेन्टिलेटरमा बस्नु नपरोस्’ भन्ने थियो । ‘कतै एक्सिडेन्टमा मर्न पाइओस्, कतै हुलदंगामा गोली लागेर मर्न पाइओस्, त्यो कम दुःखद हुन्थ्यो’ भनेर बारम्बार मजाक गर्नुहुन्थ्यो । सबैभन्दा सजिलो प्लेन क्र्यासमा मर्न पाए कम पीडादायी हुन्छ रे भन्नुहुन्थ्यो । उहाँको त्यो ठट्टा थियो । तर, उहाँसँग दिल्ली जाँदा त्यो इच्छा पूरा भयो भने ! भनेर डरचाहिँ लागिरहन्थ्यो । तर, उहाँको इच्छाविपरीत भेन्टिलेटरमा नै उपचार गर्नुपर्ने अवस्था आयो ।
०७६ मा कांग्रेस र कम्युनिस्टको संयुक्त कार्यक्रम थियो । कार्यक्रम सकेपछि उहाँ गाडी नलिई अनिल रुङ्गटासँग केही भारतीय रुपैयाँ लिई टाँगा चढेर रक्सोलसम्म जानुभएको थियो । त्यहाँ उहाँले पहिला आफूले घुमेका गल्लीदेखि बचपनमा गरेका क्रियाकलापलाई ताजा बनाउन रेलवेको पट्रीमा दुई घन्टा मजाले सुत्नुभएको दृश्य मेरो मानसपटलमा अझै ताजै छ ।
(खनालले प्रदीप गिरिसँग नजिक रहेर करिब दुई दशक काम गरे । यस दौरानमा खनालले पत्रिका प्रकाशनदेखि अनुसन्धानका कामहरूमा गिरिलाई नजिकबाट सघाए । पछिल्ला दुई वर्षदेखि उनी गिरिको स्वकीय सचिवका रूपमा समेत कार्यरत थिए । केशवप्रसाद पाण्डेले खनालसँग गरेको कुराकारीको सम्पादित अंश ।)
0 Comments