मैले रोपेको रुख, हुर्केला र १५ वर्षपछि बालखहरूले कुटुकुटु फल खादा आन्नद आउँछ । मलाई त्यति सम्झिँदा पुग्छ- प्रदीप गिरि
आदरणीय प्रदीप गिरि दाइका यी भनाइ म र मजस्ता जलवायु परिवर्तनमा काम गरिरहेका हजारौँका लागि प्रेरणा मात्र होइन, उदाहरण पनि हो । हुन त अन्यका लागि यो फिक्का पनि लाग्न सक्छ ।
मैले उहाँलाई दृश्यमा मात्र कैद गर्न पाएको छु । यो लेखमा मैले भावना मात्र व्यक्त गरेको हुँ । थाहा छैन, उहाँलाई यी अक्षरमा समेट्न सकिन्छ कि सकिन्न ।
समाजको चौतर्फी विकासका लागि लाखौँ युवा उहाँको स्पन्दनबाट टाढा छन् । जसले अझै पनि समाजवादी चिन्तन, लोकतान्त्रिक प्रक्रिया र विकासबारे धेरै कुरा जान्न बाँकी छ । म आज स्वप्न चिन्तनमा छु । समाज अझै पनि कहालीलाग्दो समयमा छ । छरपष्ट छ । विखण्डित छ । अझ भनौँ, उहाँबाट घण्टौँ बाैद्धिक र चिन्तनका प्रवचन सुन्न र स्मरण गर्न मेरो पुस्तालाई पुगेकै छैन ।
प्रदीप गिरिलाई मेरो पुस्ताका कमैले चिन्छन् । युवा पुस्ताले उहाँलाई एक नेता र सांसद मात्र मान्छन् । वर्षाैं भएकाे थियाे, उहाँले जनकपुरधाम लिटरेचर फेस्टिबलमा आएर नबोलेको तर मन मस्तिष्कमा त्यही त्रेतायुगमा रामचन्द्र भगवान्मा उहाँले गरेको कटाक्ष र राम बन्न दिएका उपदेश कतिले बुझे, बुझेनन् तर समाजको वकालत र पैरवी गर्दै हिँडेकाे मलाई राम्राेसँग याद छ । उहाँको देहान्त मात्र भएको होइन, एउटा सामाजिक मानव, जसले समाजको चौतर्फी विकास चिन्तनको खाका कोरेको छ, उसलाई देशले गुमाएको छ । यति मात्र होइन, उहाँले संसद्मा बोल्दा सन्तोष मान्नेहरूका लागि एक मार्गदर्शक गुमेका छन् । भनौँ भने एउटा चेलाले गुरु, देशले जवाफदेही नेता र मधेसले गौरव, जनताले एक बहुआयामिक नेता र विद्वान् गुमाएका छन् ।
देशले एक प्रेमिल संवाहक गुमाएको छ । देशले एक यायावरलाई गुमाएको छ । विश्वले एक ज्ञानी गुमाएको छ । यो देशले छलफल र अन्तर्क्रिया छोडेको धेरै भयो ।
प्रदीप गिरि दाइका यी भनाइ म र मजस्ता जलवायु परिवर्तनमा काम गरिरहेका हजारौँका लागि प्रेरणा मात्र होइन, उदाहरण पनि हो । हुन त अन्यका लागि यो फिक्का पनि लाग्न सक्छ ।
यत्ति मानौँ, एउटा विश्वविद्यालय खण्डहर र एक विद्यार्थी केवल नामकाे विधामा छ । न त उसमा कुनै चिन्तन छ, न कुनै चिन्ता, न त उसमा संवाद छ, न त मौलिकता । ऊ त नियोलिब्रलिज्ममा यसरी कैद छ, जसरी एक शिक्षक विद्यालयमा बन्दी, विद्यार्थी विद्यालयमा कैदी । खै कस्तो कस्तो ? अचम्मजस्तो ।
म सम्झन्छु, पत्रकारिताको त्यो मुकाममा पुग्न उहाँका कठोर र चिन्तक मन्थन । अझै भनौँ, च्या खानु भो कार्यक्रममा उहाँले दिएका दिव्य उपदेशले एक युगलाई यति त मन्थन गर्न दिएको छ । जति उसको क्षमता र श्रवण नक्षेत्रले भन्दा बढी । शिलापत्रमा बसन्त बस्नेतसँगकाे अन्तर्वार्तामा रोचक गफभन्दा बाहिर स्वतन्त्रता, संसदीय व्यवस्था, लोकतन्त्र र समाजवाद चिन्तनबारे बुझ्ने भाषामा कुरा गर्नुभएकाे थियाे ।
मेरा अग्रज तथा मार्गदर्शक आदरणीय उज्ज्वल प्रसाईं दाइले भनेकाे सम्झन्छु- हेर दिवाकर, प्रदीप दाइले भन्नुहुन्थ्याे, 'नेतृत्व त्यो घडीमा परीक्षित हुन्छ, जुन बेला ऊ संकट र षड्यन्त्रले घेरिएको हुन्छ ।'
उज्ज्वल दाइले भन्दै हुनुहुन्थ्यो, 'यो ख्यालचैँ गर्नु, समाजमा चिन्तक र चिन्तन हराए त्यो मृतसरी हुन्छ ।' अझै भनौँ, शिलापत्रमा काम गरेको त्यो नौ महिना, जहाँ प्रदीप दाइका हरेक भनाइले प्रेरित गरेकाे थियाे । एक स्वअध्ययन र अर्को चिन्तन ।
शिलापत्रमै काम गर्दा बसन्त दाइ भन्नुहुन्थ्याे, 'पत्रकारिता पत्रकार बन्न मात्र होइन, चेतनशील र चिन्तक दुवै बन्न हो । वाह !' त्यो क्या दिन थियो ।
बिहानभरि थकान मारेर प्रदीप दाइका गहकिला संवाद र अन्तर्वार्ता सुन्न म हरदिन फुर्सदिलो हुन्थेँ ।
कति लेखौँ, के लेखौँ, शब्दकोशका हरेक शब्द भरिए पनि उहाँकाे सदाचारिता र सरल जीवन, म र मेरो पुस्ताका लागि प्रेरणा हाे । उहाँले थुप्रै दिएर जानुभएको छ । एक हरेक युवा-समाज र राष्ट्रप्रति चिन्तक बन्ने । दोस्रो समाज रुपान्तरणको कारक बन्ने । अर्को प्रदीप गिरिलाई मेरो पुस्ताले चिन्नैपर्नेछ ।
प्रकाशित मिति: आइतबार, भदौ ५, २०७९ १५:०४
0 Comments