दार्शनिक लेखक एवं विश्लेषक प्रदीप गिरिको निधनले मुलुकलाई बौद्धिक क्षति पुगेको छ । घाँटीको क्यान्सरबाट पीडित कांग्रेस नेता गिरिको शनिबार मेडिसिटी अस्पतालमा निधन भएको हो ।
'रचनामा मिठास भर्न खप्पिस झर्रो साहित्यकार गिरि सालिन व्यक्तित्वका धनी हुनुहुन्थ्यो, सादा जीवन र उच्च विचारका रूपमा कहलिएका स्व. गिरिको असमायिक निधनले जुझारु पाठकलाई खल्लो बनाएको छ,' साहित्यकार ध्रुवचन्द्र गौतमले भने ।
साहित्यकार गौतम स्व. गिरिका सहपाठी हुन् । गिरिलाई उनले एक असल मित्र, राजनीतिक चिन्तक, ठूला पाठक, बौद्धिक लेखक र निष्ठाका धनी, सादगी व्यक्तित्व रहेको बताए । जनमत साहित्यक मासिक पत्रिकाका प्रधान सम्पादक तथा प्रकाशक मोहन दुवालले राजनीति विद्धानको सूचीमा स्व. गिरि अग्रपङ्क्तिमा रहेको बताए ।
स्व. गिरिले जनमत साहित्यक मासिक पत्रिकामार्फत साहित्यमा आफ्नो धारणा राख्दै, 'कविता वा कलालाई पढ्न र बुझ्न खोज्नु भनेको आफूलाई खोतल्नु हो,' भनेका छन् । साहित्यकार निलम कार्की ‘निहारीका’को कविता सङ्ग्रहको भूमिकामा उनले 'साहित्य अनुशिलन मेरा निम्ति आफ्नै जीवनको एउटा अङ्ग हो,' भनी उल्लेख गरेका छन् ।
उनले शारदा मासिक पत्रिकालगायतका दर्जनौँ साहित्यक पत्रिकामा आफ्ना साहित्यक लेख रचना प्रकाशन गराएका साहित्यकारले बताएका छन् । वरिष्ठ पत्रकार एवं लेखक जगत नेपालले स्व. गिरि राममनोहर लोहिया र गान्धीबाट प्रभावित रसिक, सालिन व्यक्तित्व, सत्यका पक्षमा अडिक र निडर लेखक रहेको बताए ।
लेखक नेपालले गिरिको निधनले मुलुकले एक असल नेता, स्थापित लेखक र कहलिएको साहित्यकार गुमाएको बताउँदै उनको निधनपछि बीपी र बीपीको प्रजातान्त्रिक समाजवादप्रतिको धारणा राख्ने पछिल्लो पुस्तासमेतको अवसान भएको चर्चा गरे । साहित्यकार विनोद दीक्षितका अनुसार स्व. गिरि विशिष्ट राजनीतिक चिन्तन भएका पठनीय र सङ्ग्रहनीय साहित्य सिर्जना गर्नसक्ने उच्चकोटीका राजनीति विशलेषक तथा लेखक रहेको जानकारी दिए ।
साहित्यकार रोचक घिमिरेका नजरमा स्व. गिरि नवीन खोज तथा अनुसन्धानमूलक लेख रचना पढ्न तथा रचना गर्न रुचाउने निर्भिक व्यक्ति थिए । गिरिले २०२८ सालमा बनारसबाट ‘अक्षर’ द्वैमासिक साहित्यक मासिक पत्रिका प्रकाशन गरेबाट पनि उनको साहित्यमा गहिरो अभिरुचि रहेको पुष्टि हुन्छ ।
पिता मित्रलाल गिरिको प्रेरणाले राजनीतिमा संलग्न प्रदीप गिरिका धेरै लेख रचना पढ्दै आएका पाठक वासुदेव ढुङ्गानाका अनुसार उनका राजनीतिक लेखमा सीमान्तकृत र पिछडिएका जनताको मर्मस्पर्शी चोटलाई साहित्यक रूपमा चित्रण गरिएको पाइन्छ ।
उनका थुप्रै लेख रचना दर्जनौँभन्दा बढी पत्रपत्रिकामा प्रकाशित भएको पाइन्छ । विशेष गरी उनले ‘विश्वेश्वरप्रसाद कोइराला, ‘राजनीति अभिलेख’, ‘विश्वेश्वरप्रसाद कोइराला प्रतिनिधि सङ्कलन’ ‘द्रौपदी देश’, ‘नेपाली कांग्रेस माओवादी र मधेश (२०६६)’ ‘डा. राममोहन लोहिया’, ‘लेनिनको जीवनी’ ‘नारी’ ‘मार्क्सवाद’ तथा ‘अर्थशास्त्र’सम्बन्धी दर्जनभन्दा बढी कृति प्रकाशित भएका छन् ।
वि.सं. २०१७ देखि सक्रिय राजनीति प्रारम्भ गरेका कांग्रेस नेता पाठक वर्गको बौद्धिक तिर्खा मेटाइदिन सक्ने समालोचक पनि थिए । उनले बीपी र मदनमणि दीक्षितका केही पुस्तकको समालोचनासमेत गरेको साहित्यकार रोचक घिमिरेले जानकारी दिए ।
विभिन्न सार्वजनिक समारोहमा कांग्रेस नेता गिरिले राजनीति र साहित्य जनताका लागि गर्नु र लेख्नुपर्छ भन्थे । उनले झन्डै चार वर्ष जेल जीवन बिताएका छन् । भारतको जवहारलाल नेहरु विश्वविधालयबाट अर्थशास्त्र र दर्शनशास्त्रका स्नातकोत्तर गिरि अध्ययनमा विशेष रुचि राख्ने प्रायः सबैले रुचाइएका नेता थिए ।
गिरिले एक पटक एक सार्वजनिक कार्यक्रममा जबसम्म युवा गाउँमा अडिने वातावरण हुँदैन तबसम्म वास्तविक समाजवाद नआउने चर्चा गरेका थिए । उक्त कुरा अहिले सावित हुँदै गएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ ५, २०७९ १५:४७
0 Comments