प्रदीप गिरि आफ्नो छात्र जीवनदेखि नै मेधावी विद्यार्थी हुनुहुन्थ्यो । यद्यपि त्यतिबेला विद्यार्थी राजनीतिक संगठनमा आबद्ध भएको देखिँदैन । कांग्रेस प्रतिबन्धित अवस्थामा तरुण प्रकाशन हुन्थ्यो, त्यस प्रकाशन पछाडिको मष्तिस्क प्रदीप गिरि हो । तरुणका कतिपय सम्पादकीय जो कवितात्मक भावमा प्रकाशित हुन्थे, त्यतिबेला युवाहरूलाई नेपाली कांग्रेसको आन्दोलनमा सहभागी हुन उत्साहित गर्न प्रभावित गरेको थियो ।
एक बेला युवा बुद्धिजीवीको आर्दशको रूपमा प्रदीप गिरि, शैलजा आचार्यलाई हेर्ने गरिन्थ्यो । नेपाली कांग्रेसको संठनात्मक परिपाटीका कारण प्रदीप गिरि जहाँ भए पनि कांग्रेसभित्रको एउटा चिन्तक, व्याख्याताको रूपमा स्थापित हुनुभयो । मार्क्सको मानवीय पक्षधरताबाट उहाँ आकर्षित हुनुहुन्थ्यो । कांग्रेस नेता मित्रलाल गिरिको छोरा भएकाले उहाँकाे घर नै कांग्रेसमय भयो, त्यसअर्थमा उहाँको राजनीति कांग्रेसमा भयो, अनि आजीवन कांग्रेस हुनुभयो ।
भारतमा समाजवादी आन्दोलन चलेकाे थियो, त्यसको गहिरो प्रभाव नेपालमा कांग्रेसको पहिलो पुस्तालाई परेको थियो । भारतमा गान्धीलाई बुझ्ने र व्याख्या गर्ने क्रममा भारतका समाजवादी र कम्युनिस्टहरू नजिक र टाढा हुने गर्दथे । त्यो चीजकाे कांग्रेसका पहिलो पुस्ताका शिक्षित, दीक्षितमा प्रभाव रहेको थियो । त्यस मानेमा भारतीय समाजवादी आन्दोलनका नरेन्द्र देव, जयप्रकाश नारायण, डा राममनोहर लोहिया, पछिल्लाेपटकका किसन नायकलगायत तमामलाई पढेको, बुझेको र संगत गरेको मान्छे प्रदीप गिरि हुनुहुन्थ्यो ।
गिरिले कांग्रेसभित्रको समाजवादी पक्षलाई निरन्तरता दिइरहनुभयो । बीपीमा त्यो धार तलमाथि परिरहेको देखिन्थ्यो । बीपी कहिले गान्धीको नजिक जान्छन्, कहिले मार्क्सको नजिक पनि हुन्छन् । तर, बीपीकै बारेमा पनि राम्रो बुझाइ प्रदीप गिरिमा थियो । गिरिको धारणा यो थियो कि, बीपी सिद्धान्तकारभन्दा पनि असल राजनीतिज्ञ हुनुहुन्थ्यो । गिरिजाप्रसाद कोइराला, प्रदीप गिरि, दुर्गा सुवेदीको बीचमा कटुता पनि उत्पन्न भएको थियो ।
तथापि कांग्रेसकाे यो पुस्ता गिरि, सुवेदीहरूले बीपी कोइरालामात्र होइन, गिरिजाप्रसाद कोइरालालाई पनि होच्याएर बोलेको सुनिएन । मैले उहाँहरूसँग लामै संगत गरे । उहाँको स्नेह प्राप्त रहेको छु । म कांग्रेसबाट राजनीति सुरु गरेका कारण स्नेह रह्यो । मैले धेरै कुरा शेयर गर्दथेँ । उहाँहरूले मसम्बद्ध आन्दोलनलाई सहयोग पुर्याउन काफी मद्दत गर्नुभयो । त्यसको पाटो खुल्दै जाला । प्रदीप गिरि, दुर्गा सुवेदीहरूको भूमिका माओवादी आन्दोलन आंतकवादी होइन, राजनीतिक हो भनेर दक्षिण एशियामा स्थापित गर्न अतुलनीय छ ।
गिरि मेधावी विद्यार्थी र अध्ययनशील हुनुहुन्थ्यो । युवा अवस्थामा कुनै पनि चर्चामा आएको किताब पढिहाल्ने अनि पढेको किताब बीपी कोइराला, भीमबहादुर तामाङहरूसँग शेयर गर्ने, कांग्रेसभित्रको पढेलेखेको तप्कासँग छलफल गर्ने बानी उहाँकाे थियो । बिपीसँग दोहोरो बाैद्धिक संवाद गर्ने व्यक्ति प्रदीप गिरि हो । मार्क्स र मार्क्सवादको विकासको परिवेश कस्तो थियो, कस्तो परिवेशमा मार्क्सवाद विकास भयो भन्ने विषय कम्युनिस्टहरूको बीचमा कम छलफल हुन्छ ।
अझ, मार्क्सको पारिवारिक स्थिति कस्तो थियो ? उनी कस्तो परिवेशमा आइरहेका थिए ? उनको भौतिक परिवेश कस्तो थियो ? बाैद्धिक परिवेश कस्तो थियो ? मानसिक परिवेश कस्तो थियो भन्ने विषय नेपाली कम्युनिस्ट आन्दोलनमा कम छलफल हुन्छ । यद्यपि, यो अन्य देशमा प्रशस्त भएको छ र उनीहरू मार्क्सको जीवनको विषयमा लेखिरहेका छन् र लेख्दैछन् ।
तर, नेपालमा चाहिँ मार्क्सको परिवेश आलोकित गर्ने काम त्यसलाई अगाडि ल्याएर मार्क्स पनि मान्छे थिए, लेनिन पनि मान्छे थिए भन्ने कुरा सावित गर्न प्रदीप गिरिले मात्रै प्रयास गर्नुभयो । कस्तो परिवेशमा लेनिनको संगठनात्मक सिद्धान्त आयो, लेनिनका सिद्धान्त के हो भन्ने कुरा गिरिको लेनिनसम्बन्धी पुस्तकमा पढ्न सक्छौँ ।
सुरुको कालखण्डमा तरुण र नेपाल प्रवाहमा उहाँको योगदान थियो । पछि बीपीका विचारहरू संग्रहित र सम्पादित गर्न सबैभन्दा बढी भूमिका रह्यो । खासगरी नेपालमा केही मान्छे मार्क्सवादलाई नयाँ ढंगले व्याख्या गर्न खोज्छन्, नेपालमा मार्क्सवादबाटै नयाँ सिद्धान्त आउँछ भनेर सोच्छन्, तिनीहरूका लागि प्रदीप गिरि अभिभावक हो । मार्क्सवादको सम्बन्ध कुनै पनि विमर्श, छलफल र काम गर्नुपर्याे भने जुनसुकै हैसियतमा सहभागी गराउनू भन्नुहुन्थ्यो ।
त्यसैले मार्क्सको दुई सय वर्षका कार्यक्रममा सल्लाहकार राखेका थियौँ । उहाँले त्यतिबेला देशभरका कम्युनिस्ट कार्यकर्तालाई प्रशिक्षण दिनुभयो । कति गौरब र रमाइलो कुरा कांग्रेसको केन्द्रीय सदस्यले हार्डकोर कम्युनिस्ट कार्यकर्तालाई प्रशिक्षित गर्नुहुन्छ । प्रदीप गिरिको प्रशिक्षण भनेपछि मान्छे ध्यान केन्द्रित गरेर नोट गरेर बस्छ । यो खालको उहाँको ज्ञान, शैली थियो ।
गिरि अलिक अव्यवहारिक हुनुहुन्छ भन्ने उहाँका नजिककाहरूले बताउँछन् । मलाई पनि लाग्छ गिरि अहिलेको समाज परिवेशबाट बेखबर जस्तो पनि लाग्छ । त्यस अर्थमा उहाँसँग मिलाएर बस्न गाह्रै हुन्छ होला । यद्यपि गिरिजस्तो दयाभाव भएको, नि:स्वार्थी मान्छे पाउन गाह्रो छ । प्रदीप गिरि संसदको जीवन्तता चाहनुहुन्थ्यो । अहिलेजस्तो पार्टीको अमुक ठाउँमा निर्णय गरेर त्यसैको ह्वीपमा कोमामा ओथारा बस्नेजस्तो संसदको विरोधमा हुनुहुन्थ्यो । साँच्चै भन्ने हो भने यो संसदीय व्यवस्थाको पक्षमा उहाँ हुनुहुन्न । अहिले संसदीय व्यवस्था कांग्रेसका अधिकांशका लागि अन्तिम गन्तव्य र आदर्श हो । तर, गिरिका लागि त्याे आदर्श होइन । बेलायतको परम्परा, मेधावी सांसदबाट गिरि प्रभावित हुनुहुन्थ्यो । तर उहाँको कन्स्टिच्वेन्सि (निर्वाचन क्षेत्र) चाहिँ ज्ञानका भोकाहरूको नै हो ।
(माओवादी नेता राम कार्कीसँग शिलापत्रले गरेकाे संवादमा आधारित)
प्रकाशित मिति: शनिबार, भदौ ४, २०७९ २२:४०
0 Comments