Pradip Giri

Menu

  • Home
  • Services
  • Projects
  • Reviews
  • Blog
  • Team
  • Contact Us

विलुप्त प्रदीप गिरिको यादमा ~ खगेन्द्र संग्राैला

author September 13, 2022

 

- खगेन्द्र संग्राैला | आइतबार, भदौ ५, २०७९
विलुप्त प्रदीप गिरिको यादमा
Imperial World School
A+AA-
4.5K Shares
  • Facebook
  • Messenger
  • Twitter
  • Viber
  •  

आफ्नो जादुगरी प्रवचनको अन्त्यमा मण्डपबाट मित्र प्रदीप गिरि स्रोताहरूमाझ मलाई खोज्थे । र, मलाई र आफूलाई संयुक्त अर्ती दिन्थे– ‘संग्रौलाजी, अब फुर्ती गर्ने दिन गए । तपाईं वृद्धवयमा प्रवेश गर्नुभो । मेरा पनि दिन गए । अब हामी दुवै विश्राममा जाने हो ।’ र, लगत्तै आफ्नो अर्ती उल्लङ्घन गर्दै पार्टीभित्र र बाहिर उनी घर्षणकारी बौद्धिक कर्ममा लीन भइहाल्थे ।

आफैँलाई दिएको अर्ती कति सजिलै विस्मृत भयो, मित्र ?,’ हल्का ब्यङ्ग्य भावमा म सोध्थेँ । प्रदीपको उत्तर आउँथ्यो, ‘निजी मर्जी र स्वतन्त्रताका जति नै कुरा गरे पनि लोकहितकर कर्मको पछिपछि डोरिन लौकिक कर्तव्यले अह्राइहाल्छ । तथापि मित्र, हामी उमेरले त जाने विश्राममै हो ।’

अहिले उमेरले मभन्दा एक वर्ष कान्छा प्रदीप मलाई पछि पारेर चिर विश्राममा विलीन भए । शिलापत्रका सम्पादक जनक नेपालले आग्रह गरे, ‘फेरि सशरीर नभेटिने बाटोमा गएका मित्रबारे मित्रले सम्झनाका केही शब्द लेख्ने होइन ?’ प्रिय मित्र गुम्दाको शोकमा रिक्त हृदयमा विराट् सन्नाटा छ । यो सन्नाटामा अथाह आहत छ । यस्तोमा के लेख्ने ? कुन मुडले लेख्ने ? तैपनि प्रदीपले भनेझैँ लौकिक कर्तव्यले डोरिएर मैले केही लेख्नु छ । तर लेख्ने के ?
    
‘फुर्सद भयो कि म पढ्न थालिहाल्छु,’ प्रदीप भन्थे । पठन प्रदीपको सोख थियो, लत थियो, नशा थियो । प्रदीपका लागि पठन जीवनको पनि जीवन थियो, नित्य आलोकदायी जीवन । दिनचर्या र जीवनशैलीमा प्रदीप हुनसम्म अव्यवस्थित थिए । तर, उनको मस्तिष्कमा पठनद्वारा सञ्चित सूचना, तथ्य र ज्ञानको व्यवस्थापन मानौँ अद्भुत थियो । जुन बेला जे चाहियो, सहजै त्यो हात लाग्ने । प्रदीपको चुम्बकीय स्मृति–शृङ्खला, उनको स्वरको मनमोहक लालित्य, उनको प्रस्तुतिको अविच्छिन्न प्रवाह र उनको वक्तृत्वको चामत्कारिक शिल्प, यी सबैको सुन्दर योगले उनको प्रवचन जादुमय हुन्थ्यो ।

जब प्रदीप बोल्न थाल्थे, के साक्षर, के निरक्षर, के सामान्य शिक्षित, के प्रकाण्ड विद्वान्, सबै सास दबाएर सुन्थे । र, सबै मुग्ध एवं आनन्दित हुन्थे । प्रदीपको प्रेमविषयक विद्वत् प्रवचन यसरी सुरु हुन्थ्यो, ‘अनुभूतिमा मलाई पहिलो प्रेम अन्तिम प्रेमजस्तो लाग्यो, दोस्रो प्रेम पहिलो प्रेमजस्तो ।’ यो सुनेर चकित र विस्मित भएका स्रोता पक्क मुख बाउँदै प्रदीपवाणीबाट अब के झर्ने हो भनी हात थापेर बस्थे ।

‘जमदम’ प्रदीप स्वयम्‌द्वारा रचित स्वयम्‌को मार्गदर्शक एक सूत्र हो । संक्षेपिकृत यो सूत्रमा ‘ज’ माने जनजाति हो, ‘म’ माने महिला, ‘द’ माने दलित, ‘म’ माने मधेसी । प्रदीपको चिन्तन, सिर्जना, साधना, अभियान र सिङ्गै जीवन ‘जनदम’प्रति समर्पित थियो । समस्त ‘जमदम’को हक, पहिचान र प्रतिष्ठाप्रति समर्पित । ‘जमदम’को जागरण, संगठन, संघर्ष र मुक्तिप्रति समर्पित ।

कांग्रेसी बौद्धिकहरूको विशाल पङ्क्तिमा प्रदीप एक त्यस्ता बौद्धिक व्यक्तित्व थिए, जो बीपीसँग आँखा जुधाएर वैचारिक वार्ता गर्न सक्थे, जो बीपीसँग विमति राख्न आँट गर्थे ।

‘जमदम’को हित र कल्याण हेतु प्रदीपले कारागारको कष्ट काटे, भूमिगत जीवनको सकस झेले, र प्रवासको असुरक्षित बास गरे । पैतृक जेथो जे थियो, त्यो विपन्न, अशक्त र सीमान्तजनको भलाइमा समिर्पत आश्रमलाई अर्पण गरे । जीवनमा प्रदीपको आफ्नो भन्नु केही थिएन । भौतिक सम्पत्ति, ज्ञानपुञ्ज, आनन्ददायी एवं जागरणकारी वचन र संघर्षशील कदम आदि प्रदीपको जे थियो, त्यो सबै लोकहितप्रति समर्पित थियो ।

सैद्धान्तिक आस्थामा प्रदीप आफूलाई शायद गान्धीवादी अहिंसावादी भन्दा हुन् । तर खासमा उनी कति गान्धीवादी हुन्, कति मार्क्सवादी ? कति अहिंसाका पक्षधर हुन्, कति बाध्यात्मक हिंसाका पक्षधर ? निर्क्योल गर्नलाई बडो जटिल विषय हो यो ।

Islington
dav

गान्धी र लोहिया, मार्क्स र लेनिन, बीपी र केपी प्रदीपका वैचारिक प्रेरणाका स्रोत र संघर्षमय जीवनपथका भिन्नभिन्न रङका, भिन्नभिन्न कोणका प्रकाश स्तम्भहरू हुन् । यी सबैका प्रभावको योगबाट निर्मित क्वाँटी दृष्टिकोण नै प्रदीपको आस्थापुञ्ज हो भनी मान्नुपर्ला ।

प्रदीप सामाजिक न्यायको संघर्षमा हिंसा अवलम्बन गर्ने कप्तान यज्ञबहादुर र राम–लक्ष्मणका अनन्य मित्र र सहयोगी थिए । कोही सोध्थ्यो 'यो हिंसालाई गान्धीवादले कसरी स्वीकृति दिन्छ, प्रदीप ?' आफ्नो कर्मको औचित्य दर्शाउन प्रदीप भन्थे, ‘गान्धीको कायरताभन्दा हिंसा श्रेयष्कर छ ।’

जीवन–यथार्थका सन्दर्भ–सन्दर्भमा प्रदीपको सैद्धान्तिक दृष्टिकोण पृथक्–पृथक् दृष्टिगोचर हुन्छ । यत्रतत्र अन्तर्विरोधी, यत्रतत्र असङ्गत । अहिंसावादमा गान्धीको कायरता देख्ने प्रदीप घुम्दैफिम्दै घरीघरी गान्धीवादकै टेको लिन पुग्छन् । उनै प्रदीप कम्निस्टहरूद्वारा सञ्चालित वैचारिक प्रशिक्षणमा मार्क्सवाद सिकाउने गजपका गुरु बन्छन् । र, चेलाहरूलाई मार्क्स–लेनिनका सैद्धान्तिक धारणा घोटेर पिलाउनुको सट्टा उनी यी दार्शनिकका वैयक्तिक जीवनका नानाओली विरोधाभाष एवं सबलता–दुर्बलताको रोचक वृत्तान्तमा घोलेर यिनका निरस सैद्धान्तिक धारणालाई रुचिकर र ग्राह्य तुल्याउँछन् ।

औपचारिक संलग्नतामा कांग्रेसका नेता, कर्ममा कम्निस्टका प्रशिक्षक । घरीघरी स्मरण गर्ने सैद्धान्तिक आस्था गान्धीवादविरोधी दलका चेलाहरूलाई पढाउने मार्क्सवाद । बस्, प्रदीपको अस्सली चिनारी यही हो । यही अनेक विपरीत तत्त्वहरूको सम्मिश्रणबाट निर्मित एक जटिल व्यक्तित्व, एक जटिल आस्था । रोचक कुरा के भने कांग्रेसी महलका प्रदीप त्याग र सादगीलाई त्यागेर भोग र विलासमा लिप्त कम्निस्ट नेता र कार्यकर्ताहरूलाई त्याग र सादगीपनको पाठ सिकाउँथे ।

कांग्रेसी बौद्धिकहरूको विशाल पङ्क्तिमा प्रदीप एक त्यस्ता बौद्धिक व्यक्तित्व थिए, जो बीपीसँग आँखा जुधाएर वैचारिक वार्ता गर्न सक्थे, जो बीपीसँग विमति राख्न आँट गर्थे । वार्ता गर्न बीपीसँग आँखा जुधाउने यो चेष्टा र विमति राख्ने यो आँट प्रदीपको विलक्षण बौद्धिक सामर्थ्य र उद्दाम नैतिक शक्तिबाट नि:सृत थियो ।

इतिहास साक्षी छ । कांग्रेसले आफ्नो वैचारिक मार्गमा कहिले दक्षिणपन्थ, कहिले पश्चगमन र कहिले जनमारा बजारवादको ध्वजा उठायो । तैपनि दक्षिणपन्थ, पश्चगमन र जनमारा बजारवादविरोधी प्रदीप किन कांग्रेसमै बसिरहे ? प्रदीपको जवाफ थियो, ‘मेरो स्वतन्त्र चिन्तन र अभिव्यक्तिमा कांग्रेस कहिल्यै बाधक भएन छैन, त्यसैले...।’

संविधान निर्माण–प्रक्रियामा प्रदीपले आफ्नो दलइतर बागी बाटो रोजे । कपटकारी तीव्र पथ, जनमतको उपेक्षा, सर्वसमावेशी र राम्रो होइन, जसरी हुन्छ संविधानसभाबाट एक थान संविधान, यी सब कुरामा प्रदीप गिरि असहमत भए । मधेसी जनका समानताका आकांक्षाउपर भएको गोली वर्षाको प्रदीपले घोर निन्दा गरे । कपटकारी नाटकको माध्यमले संविधान जे बन्यो, त्यो अपूर्ण र खण्डित बन्यो भनी प्रदीपले हस्ताक्षर गरेनन्, बरु बहिष्कार गरे । कहाँसम्म भने दिल्ली लजाउँदै ढिलो गरी दशगजापारि हाजिर भयो, छिटो आउनुपर्थ्यो भन्न पनि प्रदीपले भ्याए । अरु कसैका मुखबाट यो वचन फुत्केको भए ऊ दिल्लीको दलाल, देशद्रोही आदि कहलिन्थ्यो । तर, प्रदीपमाथि यस्ता फत्तुर लगाउने आँट कुनै शूरवीरले गरेन । किन ? प्रदीपका यी वचनलाई उनको अटल सत्यनिष्ठा, अप्रतिम विद्वता, नित्य त्याग र उद्दाम नैतिक शक्तिले टेको दिएका थिए ।

एक दिन प्रदीपले मलाई बत्तीसपुतलीनिकट आफ्नो डेरामा निम्ता गरे । मेरो साथमा थिए प्रदीपका अनन्य मित्र कृष्णज्वाला देवकोटा । सुरुङजस्तो भुईंतलामा कुचुक्क परेको धैलोमैलो कोठा, एक ज्यान अटाउने होचो ओछ्यान, भुईं धुलाम्य, ओछ्यानको छेउमा एउटा थोत्रो बेतको टेबुल, टेबुलमा असरल्ल किताबको थाक र पाँच–सातवटा मदिराका बोतल । ती बोतल कुनैमा एक पेग, कुनैमा डेढ पेग, कुनैमा दुई पेगजति मदिरा बाँकी ।

खासमा प्रदीपले मलाई डाक्नुको एउटा प्रयोजन थियो । बीपीले जेलमा पढेका प्रत्येक पुस्तकउपर संक्षिप्त प्रतिक्रिया वा समीक्षा लेखेका रहेछन् । प्रदीपलाई त्यसलाई आङ्ग्ल भाषाबाट नेपालीमा अनुवाद गराउन मन थियो । हामी पुग्नु के थियो, सदाझैँ प्रदीपको विद्वत् प्रवचन सुरु भइहाल्यो । कुरा गर्न प्रदीपलाई कुराको खास विषय नचाहिने, खुला मुड नचाहिने, खालि स्रोता भए पुग्ने । प्रवचन प्रायः विषय–केन्द्रित नहुने । एक विषयबाट अर्को विषयमा फुत्त हामफाल्यो, अर्को विषयबाट झन् अर्को विषयमा बुरुक्क उफ्रियो । बीच–बीचमा आउँछन् कवीर, गालिब, फैज अमहद फैज आदिका गजल, सायरी, उक्ति आदि ।

‘जमदम’को हित र कल्याण हेतु प्रदीपले कारागारको कष्ट काटे, भूमिगत जीवनको सकस झेले, र प्रवासको असुरक्षित बास गरे । पैतृक जेथो जे थियो, त्यो विपन्न, अशक्त र सीमान्तजनको भलाइमा समिर्पत आश्रमलाई अर्पण गरे ।

बोतलको पिँधमा भएकोे अल्प मदिरा गिलासमा तुरुक्क हाल्दै प्रदीप भन्छन्– ‘गन्नोस् है मित्र, एक बोतल निख्रियो ।’ अर्को बोतलबाट तुरुक्क हाल्छन् र फेरि भन्छन्, ‘गन्न नबिर्सनोस् है मित्र, यो पनि निख्रियो । म सधैँ पिलाउन सक्दिनँ । आज म जति बोतल टक्य्राउँछु, मित्रहरूले पछि त्यति नै बोतल टक्य्राउनुपर्छ । मैत्रीपूर्ण लेनदेनको माम्लो हो यो ।’

राति १२ बज्यो । तुरुक्क–तुरुक्क मदिरा भएका सबै बोतल रित्तिए । ज्वाला र म बाटो लाग्न उठ्यौँ । प्रदीपले मलाई डाक्नुको कारण खोतल्लान् कि भन्या, केको खोतल्थे । मैले नै कुरा कोट्याएँ । पारिश्रमिकको कुरा गर्दै गरूँला भनी अनुवाद गर्ने कुरामा हाम्रो सहमति भयो । कुरो त पहिले छ–आठ महिनाअघि पनि भएको थियो । प्रदीपले म सामग्री पठाउँछु भनी कबोल गरे र पठाउन बिर्से । प्रदीपले अहिले भने, ‘सामग्री म भोलि नबिर्सी पठाउँछु ।’ अनेक भोलि आए, गए । तर प्रदीपको भोलि कहिल्यै आएन ।

प्रदीप अनौठा मानिस थिए । प्रदीप बौद्धिक विमर्शको दृश्यमा झुलुक्क झुल्किन्थे र दृश्यबाट झ्याप्प अस्ताउँथे । झुलुक्क र झ्याप्पको यो उपक्रम चलिरहन्थ्यो । राजनीतिका अहम् महत्त्वका सवालमा भीषण वैचारिक घर्षण चल्दा हामी विचारकर्मीहरू सधैँ प्रदीपको खोजी गर्थ्यौं । तर, उनी भेटिए पो ! उनी कहिले दिल्लीतिर कतै छन् भन्ने सुनिन्थ्यो, कहिले मुम्बईतिर । जब उनी फर्किन्थे, म उनीसँग गुनासो गर्थें । हामीलाई यत्रो खाँचो पर्दा तपाईं कता बेपत्ता ? तपाईंको सत्य निष्ठा, बौद्धिक सामर्थ्य र नैतिक शक्ति अगणित उत्पीडित जनको सम्पत्ति हो । जनजनलाई खाँचो परेका बेला यो अमूल्य सम्पत्ति लुक्न पाउँछ ? मेरो बोली अलि चर्को हुँदा प्रसङ्गबाट तर्किन प्रदीप मुस्कानमय स्वरमा भन्थे, ‘सरी मित्र, मेरो त जातै जोगीको ।’ पछिपछि त दृश्यबाट अस्ताएर झुलुक्क झुल्किँदा मलाई उछिन्दै प्रदीप स्वयम् भन्न थाले, ‘संग्रौलाजी, यतिका दिन तपाईं कता बेपत्ता हो ?’

क्यान्सरपीडित प्रदीप दिल्लीपछि मुम्बईमा उपचाररत थिए । विदेशमा महँगो उपचार सुरु भएको वर्षदिन भइसकेको थियो । पत्नी भारती सिलवाल गिरि, पुत्र र सहयोगीहरू पनि साथमा थिए । औषधोपचार र यतिका जनको बास र गाँसमा खर्च त प्रलय भइराख्या होला !

मित्र जुगल भुर्तेलले सोधेछन्, ‘प्रदीप दाइ, उपचार खर्च कसरी चल्दैछ ? सहयोगका लागि सरकार गुहार्ने पो हो कि ?’ भुर्तेलको वचन भुईंमा खस्न नपाउँदै प्रदीपले भनेछन्, ‘यो कुराचाहिँ गर्दै नगर । मेरो एक मात्र सम्पत्ति मेरो इमान हो । सरकारी सहयोग लिएर म आफ्नो इमानको नाक किन काटूँ ?’

प्रदीप जीवनदृष्टि र जीवनशैलीमा सन्त प्रकृतिका थिए । जीवन र मृत्युलाई बुझ्ने उनको आफ्नै काइदा थियो । उनी भन्थे– ‘जीवन जति सत्य हो, मृत्यु पनि त्यति नै सत्य हो । म त मर्न डराउँदिनँ, तपाईं नि ?’

प्रदीपले बडो सुझबुझ, संयम र साहसका साथ मृत्युवरण गरे । प्रदीपको भौतिक देह लोकदृष्टिबाट अलप भयो । र, हाम्रा स्मृतिमा प्रदीपको अर्को जीवन सुरु भयो । प्रेरणादायी जीवन, आशा सञ्चारकारी जीवन, त्याग र उत्सर्गको महिमाबोध गराउने जीवन, सादगी र इमानको पाठ सिकाउने जीवन । हामी जगत्‌का जीवितहरूको सादर अभिवादन प्रिय प्रदीप !

प्रकाशित मिति: आइतबार, भदौ ५, २०७९  १६:२५
Article based on pradip giri

0 Comments

Bidhan

NSU Bidhan 2075

बुढिगण्डकिको लागि प्रती लिटर पाँच रुपैया कहाँ गयो?कालोसुचिमा परेको गेजुवा कम्पनीको कोल्टोमा,गेजुवा कम्पनीको एजेन्ट लगानी बोर्डको सिइयो । ७० करोड,ओम्नि काण्डका अभियुक्त सार्वजनिक लेखा समितिमा,रातो पासपोर्टका अभियुक्त पार्टी भित्र अबिरजात्रा। त्यसैले समृद्ध साइबर स्याल सुखी केपि!!!

— भाइरसअल्बट।। (@bibekprz) April 12, 2021

Popular Posts

Projects

3/Projects/post-list

Subscribe Us

Categories

Tags

  • Article based on pradip gir
  • Article based on pradip giri
  • Interview with pradip giri
  • Related with pradip giri

Search This Blog

Powered by Blogger
  • August 20235
  • March 20231
  • September 202230

Report Abuse

About Me

author
View my complete profile

Contact List

Skype: skype.nsu.pncampus.bbs
Facebook/Nsu.Pncampus.Bbs
WhatsApp: +01 99 8877-6655

Contact form

Copyright (c) 2021 Nsu Pnc Bbs Faculty All Right Reseved

Created By Bibekprz | Powered By Blogger
  • Home
  • About
  • Contact Us