विभिन्न राजनीतिक पार्टीका नेताहरूले कांग्रेस नेता एवम् प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको निधनबाट मुलुकमा अपूरणीय क्षति भएको बताएका छन् । आइतबार कांग्रेस केन्द्रीय कार्यालयमा राखिएको उनको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्न पुगेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता भीमबहादुर रावल, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता राजेन्द्र महतोलगायतका नेताहरूले प्रखर समाजवादी चिन्तक गिरिको निधन मुलुकका लागि ठूलो क्षति भएको बताए ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गिरिको बौद्धिक व्यक्तित्व र तर्कशीलता सबैका लागि प्रेरणाको स्रोत रहेको बताए । उनले राजनीतिलाई जनता र राष्ट्रको सेवा गर्ने माध्यामको रुपमा लिनुपर्ने कुरालाई पनि गिरिबाट प्रेरणा लिन सकिने उल्लेख गर्दै समाजवादी चिन्तनबाट सिकेर अघि बढनुको विकल्प नरहेको बताए ।
नेकपा (एमाले)का नेता भीमबहादुर रावलले नेता गिरिलाई एउटा बौद्धिक र लोकतन्त्रका लागि निरन्तर संघर्षरत योद्धाको रुपमा नेपाली समाजले सम्झिरहने उल्लेख गरे। कार्यकारी पद र प्रतिष्ठा नभए पनि नेताहरू सम्मानित हुन सक्छन् भन्ने कुरा पनि गिरिले पुष्टि गरेको उनको भनाइ थियो ।
्
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता राजेन्द्र महतोले स्वर्गीय नेता गिरिलाई देश र जनताप्रति समर्पित नेताको रुपमा चित्रण गरे । गिरि सिद्धान्तनिष्ट र आर्दशवादी नेता भएको र उनको निधन मुलुकका लागि अपूरणीय क्षति भएको उनले बताए । उनले देश र जनताको हितका लागि कांग्रेसभित्रै पनि गिरिले पटक पटक विद्रोह गरेको स्मरण गरे ।
प्रकाशित मिति: आइतबार, भदौ ५, २०७९ १७:२३
0 Comments